काठमाडौं – शनिबार सम्पन्न भक्सवागन नेसनल अटो जिमखाना च्याम्पियन सुरेन्द्र प्रधान बनेका छन् । धुलिखेलको हिमालयन मोटरल्यान्डमा सम्पन्न उक्त प्रतियोगिताको मेन इभेन्टमा प्रधान च्याम्पियन बनेका हुन् । त्यसैगरी विदुर पौडेल दोस्रो र रिकी देउला तेस्रो भए ।
सोही स्थानमा सम्पन्न ¥याली क्रस प्रतियोगितामा सुमन ओझाले प्रथम स्थान हासिल गरे । त्यसैगरी बिप्लक श्रेष्ठले दोस्रो र सबिन शाक्यले तेस्रो स्थान हासिल गरे ।
प्रधानलाई जिमखानाको मूख्य प्रायोजक भक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालका सीईओ विवेक बिजुक्छे र अन्य अतिथिहरुले पुरस्कार प्रदान गरे । विजेता अन्य खेलाडीहरुले पनि शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
नेपाल मोटर स्पोर्ट्स क्लबको आयोजना र भक्सवागन नेपालको मूख्य प्रायोजनमा सम्पन्न नेपालकै पहिलो अटो जिमखाना र ¥यालीक्रस प्रतियोगितामा ४१ जनाको सहभागिता थियो । प्रतियोगितालाई फ्रि ल्याप र मेन इभेन्ट गरी दुई भागमा विभाजन गरिएको थियो । प्रतियोगिताका लागि कुल ७ सय मिटर दुरीको ट्रयाक निर्माण गरिएको थियो ।
धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको उक्त प्रतियोगिताको समापन काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले गरेका थिए । मेन इभेन्ट अर्थात जिमखाना प्रतियोेगितामा प्रथम स्थान हासिल गरेका प्रधानले आगामी दिनमा इन्डोनेसियामा हुने एफआईए एसिया प्यासिफिक जिमखाना प्रतियोगितामा भाग लिने मौका पाउने छन् ।
त्यसैगरी दोस्रो र तेस्रो स्थान हासिल गरेका र रिकी देउलाले आगामी फेब्रुअरीमा हुने हिमालयन ड्राइभ सिक्स कार ¥यालीमा सहभागी हुने मौका पाउने छन् । हिमालयन ड्राइभ सिक्स कार ¥याली नेपाल, भारत र भुटानका बीच हुने त्रिदेशीय कार ¥याली हो ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबले यस प्रकारको इभेन्टको आयोजना गरेको हो ।
दर्शकहरुको उत्साहपूर्ण सहभागितामा सम्पन्न यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो । नासाले यस्तै प्रकारका मोटर स्पोर्ट्सका लागि धुलिखेलमा हिमालयन मोटरल्यान्डको नाममा ट्रयाक निर्माण गरिरहेको छ । आगामी दिनमा यही स्थानमा अन्य विभिन्न मोटर स्पोर्ट्स इभेन्टको आयोजना गर्ने नासाले बताएको छ ।
जिमखाना एक प्रकारको मोटर स्पोर्ट्स इभेन्ट हो । प्रत्येक ड्राइभरले कार कन्ट्रोल र ह्यान्डलिङका विभिन्न प्रदर्शनीका आधारमा यसमा प्रतिस्पर्धा गर्नु पर्छ ।
यसमा एक प्रकारको ट्रयाक निर्माण गरिएको हुन्छ र ट्राफिक नियम पालना नगरे वा ट्रयाक मार्कर छोएमा दण्ड समेत तिर्नु पर्छ । निर्धा्रित दुरी छोटो समयमा जसले पुरा गर्छ, उ नै विजयी हुन्छ ।