यसरी गर्न सकिन्छ काठमाडौंको यातायात व्यवस्थापन

काठमाडौैंमा करीब ८ लाख सवारी गुडिरहेका छन्, त्यसैले काठमाडौैंको सडक व्यवस्थापन गर्न प्रविधिको सहयोग लिनैपर्छ।

लेखक अाशिष गजुरेल।

ट्राफिक व्यवस्थापन विश्वभरिका शहरहरूको मुख्य चुनौती बनिरहेको छ। देशले जति आर्थिक उन्नति गर्दै जान्छ, त्यति नै मात्रमा सवारी साधनको वृद्धि हुन्छ र ट्राफिक समस्या बढ्छ। ट्राफिक समस्या समाधान गर्ने दुई विकल्प छन्, ती हुन् सडक फराकिलो पार्नु र ट्राफिक व्यवस्थापन।

काठमाडौं शहरमा मात्र होइन हाल देशभर ट्राफिक व्यवस्थापन फितलो देखिन्छ। २१ औँ शताब्दीमा आइ पुगेर पनि यहाँका ट्राफिक व्यवस्थापन म्यानुअल्ली भइराखेका छन्। काठमाडौंमा करीब ८ लाख सवारी गुडिरहेका छन्, जुन म्यानुअल्ली व्यवस्थापन गर्न असम्भव नै हो। त्यसैले काठमाडौैंको ट्राफिक व्यवस्थापन गर्न प्रविधिको सहयोग लिनैपर्छ। यसप्रति सम्बन्धित निकाय गम्भीर भएर कार्ययोजना बनाउनुपर्छ र लागू गराउनुपर्छ।

वैज्ञानिक ट्राफिक व्यवस्थापन भए मात्र शहरको सडकको दीर्घकालीन व्यवस्थापन हुन्छ। ट्राफिक व्यवस्थापनको सुरुवात भनेको शहरको सडक ट्राफिक बत्तीको माध्यमबाट सञ्चालन हुनुपर्छ। ट्राफिक प्रहरीले सञ्चालन गर्दा एउटा दोबाटोमा बसेको प्रहरी र अर्को दोबाटोमा बस्ने प्रहरीमा समन्वय हुँदैन। जुन कुरा कम्प्युटराइज्ड प्रणालीबाट मात्र सम्भव छ।

ट्राफिक लाइटमार्फत् प्रोग्रामिङ गर्न सकिन्छ र शहरलाई स्वचालित प्रणालीमा लग्न सकिन्छ। ट्राफिक प्रहरीको काम नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने हो र नियमको पालना गर्न लगाउने हो। ट्राफिक प्रहरीलाई जतिसक्दो चाँडो टेक्नोलोजी विधिमा प्रतिस्थापन गर्न सक्नुपर्छ।

हिजोआज काठमाडौंका सडकहरु चौडा बनाइदैछन्। यो सडक ट्राफिक व्यवस्थापनको सबल पक्ष हो। तर, यसलाई नै व्यवस्थापनका उत्तम माध्यम मान्नु गलत हुनेछ। ट्राफिक इन्जिनियरिङको हिसाबले सडक चौडा बनाउनु भनेको, सर्वसाधारणलाई निजी सवारीसाधन किन्न प्रोत्साहन गर्नु हो।

कोटेश्वरबाट भक्तपुरतिर जाने अरनिको राजमार्ग फराकिरो पारेपछि त्यहाँ वरपरका बासिन्दाले निजी सवारीसाधन बढाएका छन्। राम्रो चौडा सडक भएपछि ट्राफिक जाम कम हुन्छ र सहजै सवारी चलाउन सकिन्छ । तर, यसरी सवारीसाधनको संख्या बढ्दै गएपछि एकदिन फेरि यस्तो अवस्था आउँछ कि फेरि सडकको माग आपूर्तिभन्दा कम हुन जान्छ। अनि ट्राफिक समस्या शुरु हुन्छ। त्यसैले सडक चौडा पार्नु भनेको अस्थायी समाधान मात्र हो ।

अर्को ट्राफिक व्यवस्थापन गर्न सार्वजनिक बसको सुविधा विस्तार गर्नुपर्छ। ‘मास ट्रान्जिट’ को विकास गर्न सके निजी सवारीसाधनको प्रयोगमा कमी आउँछ। र, सडकमा सवारीसाधनको संख्या घट्छ। यसले पनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सघाउ पु¥याउँछ। अहिलेका सार्वजनिक साधन सेवाभन्दा पनि व्यवसायिक छन्। पैसा कमाउने उद्देश्यबाट सञ्चालित सवारीमा ठेलमठेल हुने, झुण्डिएरै जानुपर्ने जस्ता कारण यात्रा गर्न निकै असहज हुन्छ।

एक अध्ययनले नेपालको सार्वजनिक यातायातको सेवा खस्कदो रहेको देखाएको छ। सार्वजनिक सवारीमा हुने चालक/सहचालकको व्यवहार र अटेसमटेस हुने गरी यात्रु चढाउनाले सर्वसाधारण निजी सवारीप्रति आकर्षित भएका हुन्।

महत्वपूर्ण कुरा साना सवारी दिनानुदिन बढ्दैछन्। हरेक वर्ष नेपालमा सबारीसाधनको बिक्री २० प्रतिशतभन्दा बढी छ। यही गतिमा जाने हो भने सडक जतिचौडा बनाए पनि ट्राफिक व्यवस्थापन गर्न मुस्किल हुँदै जानेछ । त्यसैले साना सवारीको विकल्प ठूला सवारी नै हुन्।

साना सवारी विस्थापित गरी ठूला सवारी ल्याउन सके ट्राफिक व्यवस्थापनले गतिलो फड्को मार्नेछ। साना सवारी विस्थापित गर्दा त्यहाँ काम गर्नेलाई बैकल्पिक रोजगारी प्याकेज सँगसँगै ल्याउनुपर्छ। ठूला सवारी प्रयोग बढेसँगै सडकमा गुड्ने सवारीसाधनको उपस्थिति पातलिने छ।

शहरमा रेलको सम्भावना पनि राम्रो छ। तर, नेपाल सरकारले शहरमा रेल विकासको सम्भावना नै देखेको छैन। अवधारणा आएका छन्, तर ती सञ्चालनमा ल्याउन सरकारको यस्तै गति हेर्दा वर्षौ लाग्ने देखिन्छ। विभिन्न मुलुकमा मेट्रो रेलबाटै लाखौं यात्री आउजाउ गर्छन्। यसको विकास र सञ्चालन दुबै महँगो पर्ने भएकोले यसको विकल्प ‘बस ट्रान्जिट’ हो।

साझा यातायातले ५६ सिट भएको बस सञ्चालन गरिरहेको छ। काठमाडौंका सडक व्यवस्थापन गर्न यस्तै ठूला बस सञ्चालनमा ल्याउनुपर्छ र भित्री सडकहरूमा मात्र साना सवारी चलाउन दिनुपर्छ। ठूला सवारी साधनमा इन्धनको प्रयोग पनि कम हुन्छ र वातावरण सफा राख्न पनि मद्दत गर्छ। विश्वका ठूलठूला शहरमा ठूलै बस सञ्चालन भइरहेका छन्।

आज नेपालीका लागि सडक यातना स्थल बनेको छ। ट्राफिक जामले समयमै काममा पुग्न सकिरहेको हँुदैनन्, अस्तव्यस्त भइरहेका छन्, दुर्घटना बढिरहेका छन्। लेन अनुशासनको व्यस्थापन कार्यान्वयन नगर्दा यस्ता विकराल घटना भइरहेका छन्। यसका लागि कानूनी कारबाही कडा हुनुपर्छ।

नेपालमा तुरून्त सार्वजनिक यातायातको प्रवद्र्धन गर्न अन्य शहरको अनुभवबाट सिक्नु खाँचो छ। सार्वजनिक यातायातले मानिसको जीवनस्तर सुधार गर्न र बढ्दो यातायातको चुनौती समाधान गर्ने र सडक दुर्घटना नियन्त्रण गर्ने क्षमता राख्दछ। नेपालीलाई आज सफा, सुरक्षित, आरामदायी एवं सस्तो सार्वजनिक यातायातको खाँचो छ। जसबाट सबै वर्गको लागि आकर्षक सेवा उपलब्ध होस्। जब सार्वजनिक यातायातको सेवा निजी सवारीसाधनको हाराहारीमा पुग्छ तब समाजका सबै वर्गमका मानिस सार्वजनिक यातायातमा आकर्षित हुनेछन्।

विकसित राष्ट्रमा हेर्ने हो भने सार्वजनिक यातायात सबै वर्गले प्रयोग गर्छन्। सार्वजनिक सेवा विश्वसनीय बनाउन २४ सै घण्टा उपलब्ध गराउनु पर्छ। आउजाउ गर्न जुनसुकै समयमा सवारी पाउने भएपछि आर्थिक अवस्था पनि बढेर जान्छ। जुनसुकै ठाउँमा पुगेकाहरू ढुक्कसँग काम सकेर घर फर्कन पाउनेछन्।